लहान २७,सिरहा । सिरहाको लहानमा आज देखि स्थानीय तह सामुदायिक सिकाइ केन्द्र वैकल्पिक शिक्षा, जीवनपर्यन्त सिकाइ तथा सीप विकास प्रबर्धनका लागि दुई दिने संयुक्त कार्यशाला सुरु भएको छ ।
शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशको आयोजना तथा युनिसेफ र समग्र जनउत्थान केन्द्र, लहान–६, सिरहाको समन्वयमा कार्यशाला सञ्चालन भइरहेको हो । शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशका शिक्षा अधिकृत दिलीप मुखियाको अध्यक्षता तथा कल्याणपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख जय प्रसाद दासको प्रमुख आतिथ्यमा कार्यक्रमको औपचारिक उदघाटन शत्र सम्पन्न भएको थियो ।
कार्यशालामा कल्याणपुर नगरपालिकाका पाँच,सिरहा नगरपालिकाका पाँच र कर्जन्हा नगरपालिकाका तीन गरी १३ वटा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष तथा परिचालक (सहजकर्ता) को सहभागिता रहेको छ ।
युनिसेफको किशोरी शिक्षा कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको कार्यशालाले सामुदायिक सिकाइ केन्द्रको क्षमता अभिवृद्धि गर्दै वैकल्पिक शिक्षा, जीवनपर्यन्त सिकाइ तथा सीप विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यशाला संचालन गरिएको समग्र जनउत्थान केन्द्रका अध्यक्ष एवं कार्यक्रमका समन्वयकर्ता राम भरोसी महतोले बताएका छन् ।
उनका अनुसार विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः विद्यालय सम्म ल्याउने, उनीहरूका अभिभावकलाई आयआर्जन तथा सीप विकासका कार्यक्रमसँग जोड्ने, सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी बनाउने तथा जीवनोपयोगी र व्यावसायिक सीपमार्फत रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने विषयमा बृहतरुपमा कार्यशालामा छलफल भइरहेको छ।
त्यसैगरी समय अनुकूल आवश्यक डिजिटल तथा प्राविधिक ज्ञान–सीपमा पहुँच विस्तार गर्ने, नयाँ सीप तथा प्रविधिको प्रयोग बढाउने र समुदायमा निरन्तर सिकाइको वातावरण निर्माण गर्ने विषयमा समेत सहभागी बीच बृहत् छलफल भइरहेको कमला सामुदायिक सिकाइ केन्द्र, कल्याणपुर नगरपालिका–६ की परिचालक किरण कुमारी साहले बताइन्।
कार्यशालाको अध्यक्षता गरेका शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशका शिक्षा अधिकृत दिलीप मुखियाले विद्यालय बाहिर रहेका बालबालिका तथा किशोर–किशोरीलाई विधालय भर्ना गर्नका लागि सामुदायिक सिकाइ केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताए। औपचारिक शिक्षाबाट बाहिर रहेका बालबालिका, युवा तथा वयस्कलाई सिकाइको अवसर उपलब्ध गराउनु नेपाल सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उनले मधेस प्रदेश सरकारले पनि सामुदायिक सिकाइ केन्द्रप्रति सकारात्मक दृष्टिकोण रहेको प्रस्ट पारे ।
कार्यक्रमका प्रमुख अतिथि कल्याणपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख जय प्रसाद दासले सामुदायिक सिकाइ केन्द्र (CLC) सञ्चालनको मुख्य उद्देश्य समुदायका मानिसलाई उमेर, वर्ग वा औपचारिक शिक्षाको अवस्था भन्दा बाहिर गएर निरन्तर सिकाइ, सीप विकास तथा आत्मनिर्भरताको अवसर उपलब्ध गराउनु रहेको बताए। नगरपालिकाको तर्फबाट सामुदायिक सिकाइ केन्द्रलाई आवश्यक सहयोग गर्न आफूहरू पछि नहट्ने उनको भनाइ थियो।
दुईदिने कार्यशालामा शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशका शिक्षा अधिकृत दिलीप मुखिया, समग्र जनउत्थान केन्द्रको किशोरी शिक्षा कार्यक्रमका परियोजना संयोजक राम कुमार महरा तथा कार्यक्रम दस्तावेजीकरण तथा अनुगमन अधिकृत हुसेन अन्सारीले सहजीकरण गरिरहेका छन् ।
कार्यशालामा सामुदायिक सिकाइ केन्द्रको वर्तमान अवस्था, प्रभावकारिता अभिवृद्धि, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान तथा पुनः शिक्षामा पहुँच, अभिभावकको सीप विकास, रोजगारी तथा स्वरोजगार, डिजिटल साक्षरता र जीवनोपयोगी सीपलगायतका विषयमा सहभागीबीच अनुभव आदान–प्रदान तथा समूहगत छलफल भइरहेको छ । सामुदायिक सिकाइ केन्द्रहरू संघीय सरकारको अनुदानमा सञ्चालन हुँदै आएका छन् । सिकाइ केन्द्रलाई थप प्रभावकारी बनाउँदै सरकारले लिएको उद्देश्य पूरा गर्न युनिसेफ लगायत विभिन्न संघसंस्थाले सरकारलाई सहयोग गर्दै आएका छन् ।








तपाईको ईमेल गोप्य राखिनेछ