लहान,२३ असोज। सिरहाको लहान नगरपालिका–२४, गोविन्दपुर स्थित लेखनाथ जनता माध्यमिक विद्यालयमा विद्यालय स्तरमा दलित छात्रवृत्ति रकम वितरण कार्यान्वयन, स्थानीय शिक्षा नीति तर्जुमा तथा दलित बालबालिकाको शिक्षामा पहुँचको अवस्था बारे एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, लहान–३, सिरहा र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा सञ्चालित ‘नेपाल छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत बिहीबार उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा दलित छात्रवृत्ति प्राप्त गर्ने प्रक्रिया, छात्रवृत्ति रकम वितरणको अवस्था, स्थानीय शिक्षा नीति निर्माण तथा लक्षित वर्ग अन्तर्गत पर्ने दलित, गरिब र सीमान्तकृत बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने विषयमा विशेष छलफल गरिएको थियो।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, लहान–३, सिरहाका अध्यक्ष मोहन पासमानका अनुसार अन्तरक्रियामा स्थानीय सामुदायिक विद्यालयमा दलित छात्रवृत्ति वितरणको अवस्था, यसको प्रभावकारी कार्यान्वयन तथा दलित बालबालिकाले शिक्षाको पहुँचमा भोग्नु परेका समस्या र चुनौतीबारे सरोकारवालालाई जानकारी गराइएको थियो।
अध्यक्ष पासमानले छात्रवृत्ति वितरण प्रक्रियालाई प्रभावकारी, पारदर्शी र लक्षित वर्गमैत्री बनाउन आवश्यक रहेको उल्लेख गर्दै दलित, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन सम्बन्धित निकाय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।
उनले स्थानीय तहमा शिक्षा नीति तर्जुमा गर्दा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकाको अवस्था, आवश्यकता र समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। छात्रवृत्तिको उचित कार्यान्वयनले विपन्न परिवारका बालबालिकालाई विद्यालय शिक्षामा निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, लहान–३, सिरहाका उपाध्यक्ष सोसिल सदायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ जनता माध्यमिक विद्यालय, गोविन्दपुरका प्रधानाध्यापक कमल किशोर सिंह प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा आयोजक संस्थाका सचिव शंकर कुमार पासमान, संस्थाका सदस्य नागेश्वर पासमान, लेखनाथ जनता माध्यमिक विद्यालयका शिक्षक राम विलेक्षण सिंह, विद्यालय व्यवस्थापन समितिकी सदस्य हिरा देवी राम, दलित भानुभक्त आधारभूत विद्यालय, लहान–२४ का प्रधानाध्यापक उमेश कुमार यादव तथा माध्यमिक विद्यालय, सिमलटोकीका प्रधानाध्यापक दिनेश्वर महतो विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
त्यसैगरी कार्यक्रममा अभिभावक, शिक्षक, नागरिक समाजका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले दलित बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउने, लक्षित वर्गको पहिचान गर्ने र विद्यालय तथा समुदायबीच समन्वय बढाउने विषयमा छलफल गरेका थिए।

कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय दलित समाज कल्याण संघअन्तर्गत सञ्चालित ‘नेपाल छात्रवृत्ति कार्यक्रम’का कार्यक्रम संयोजक बरिश लाल मोचीले गरेका थिए।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले वि.सं.२०४८ साल देखि सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र शिक्षा मन्त्रालयसँगको सहकार्यमा ‘नेपाल छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। कार्यक्रमले लक्षित वर्गका बालबालिकाको शैक्षिक पहुँच र अवसर विस्तारमा सहयोग पुर्याउने उद्देश्य राखेको छ।








तपाईको ईमेल गोप्य राखिनेछ