सिरहा, १० जेठ | सिरहाको लहान नगरपालिका—१५ स्थित ढोड्नामा ऐतिहासिक धार्मिक पर्यटक क्षेत्र राजदेवी पञ्चावती मन्दिर परिसरमा आज भव्य बैशाखी पूर्णिमा मेला लागेको छ । प्रत्यक वर्ष चण्डी पुर्णिमाको दिन लाग्ने मेलामा यहाँ हजारौ पशुपन्छीको बली दिइन्छ ।
वितग वर्षमा जस्तै यो वर्ष पनि खासी बोकाको बलि दिन बिहानैदेखि श्रद्धालूहरूको चहलपहल बढेको छ । हरेक वर्ष मेला भर्न नेपाल तथा भारतबाट लाखौं श्रद्धालूहरू आउने गरेकामा यस वर्ष पनि उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
लहान बजारबाट १० किलोमिटर उत्तरमा चुरे जंगलसँगै जोडिएर रहेको करिव तीन बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक, सांस्कृतिक एवम् धार्मिक पर्यटकीय क्षेत्र राजदेवी मन्दिरमा सन्तान प्राप्ति, रोग निधान र कार्य सफलताका लागि पूजा गर्न भक्तजन आउने गरेको मन्दिरका पुजारी शालिग्राम भट्टले जानकारी दिनुभयो । उहाँको अनुसार यहाँ मेला भर्न टाढाटाढाबाट श्रद्धालुहरु अघिल्लै दिनदेखि आउँने गर्दछन् । राजदेवी पञ्चावतीलाई बैशाख शुक्ल पुर्णिमाका दिन मात्र बलि दिने परम्पराग मान्यता रहि आएको छ ।
भक्तजनको भीडलाई व्यवस्थित गर्न चार सय स्वयंसेवकहरु खटाइएको छ भने स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरि कुनै प्रकारको अवाञ्छीत क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्थापन चुस्त पारिएको पनि अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनसार बाराको गढीमाईपछि सबैभन्दा बढी बलि चढ्ने शक्तिपीठका रूपमा यस राजदेवीथान रहेको छ । “गढीमाईपछि सम्भवत सबैभन्दो बढी बलि यही दिइन्छ । गत वर्ष १७ हजार पशुपञ्छीको बलि दिइएको थियो । यस वर्ष करिव २० हजारको बलि दिइने अनुमान रहेको छ,” अध्यक्ष चौधरीले भन्नुभयो,“त्यसैगरि मन्दिरमा पुजापाठ बापत गत वर्ष ३५ लाख भेटी संकलन भएको थियो । यस वर्ष भेटी रकम अझ बढ्न सक्ने हाम्रो अनुमान रहेको छ ।”
यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न विभिन्न समयमा पहल गरिएतापनि नेपाल सरकारले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिनसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खुसिरम चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन भने सोचेअनुसार सकिएको छैन ।”
अध्यक्ष चौधरीका अनुसार समितिले पर्यटकीय पुर्वाधारको विकास गर्ने उद्वेश्यले वि.सं २०७४ सालमा महापुराण लाएके थियो । त्यसबाट प्राप्त रकम र जनश्रमदान गरि कुल रू एक करोड ८१ लाख लागतमा धर्मशाला निर्माण गरिएको छ जसमा मधेश प्रदेशका सांसद राजेन्द्र प्रसाद चौधरीका सांसद विकास कोषबाट रू २५ लाख र पुर्व सांसद लगनलाल चौधरीद्धारा रू १३ लाख सहयोग रहेको छ । त्यसैगरि यसैवर्ष शहरी विकास तथा भवन कार्यालय सप्तरीद्धारा राजदेवी मन्दिरसम्म पुग्ने तीन किलोमिटर कच्चीबाटो पीच भएको छ ।
यहाँ लाग्ने मेलास्थल नजिकै राजदेवी ताल, गोसाइकुण्डा ताल, शिव डाँडाँ, हात्तिदह सिमसार क्षेत्र, बानो गाउँ होमस्टे लगाएत प्रसिद्ध ऐतिहासिक ‘सलहेश सर्किट’ रहेकाले स्थानीय, प्रदेश तथा नेपाल सरकार र यस क्षेत्रमा क्रियाशील सरोकारवाला सङ्घ संस्थाहरूले एकीकृत गुरुयोजना बनाएर काम गर्नसके आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरी व्यापारिक तथा धार्मिक दृष्टिले समुचित लाभ लिन उचित ध्यान दिनुपर्ने स्थानीय बुद्धिजिबीहरु बताउँछन् ।
लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी भने ऐतिहासिक राजदेवी पञ्चावती मन्दिर क्षेत्रको संरक्षण र व्यवस्थापन सुधारका लागि नगरपालिकाले केही काम गरिरहेको भए पनि समग्र विकासका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने धारण राख्नुहुन्छ ।
राष्ट्रिय समाचार समिति (रासस)











तपाईको ईमेल गोप्य राखिनेछ