अनिल चौधरी
लहान ७, फागुन । प्रजातन्त्र दिवसको अवसरमा सिटी ग्लोबल पब्लिक स्कुल प्रा. लि. लहान–१ पडरियाले आज विज्ञान तथा कला प्रदर्शन कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले आफ्नो सिर्जनात्मक क्षमता र वैज्ञानिक सोच प्रस्तुत गर्दै विभिन्न स्थानीय श्रोत प्रयोगगरी हातले बनाएका सामग्री प्रदर्शन गरेका थिए ।
कार्यक्रम लहान नगरपालिकाका मेयर महेश चौधरीको प्रमुख आतिथ्य तथा विद्यालयका संस्थापक प्रिन्सिपल विरेन्द्र कुमार चौधरीको सभाध्यक्षतामा संचालन भएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूले विज्ञान र कलासँग सम्बन्धित विभिन्न नमुना चित्रकला प्रदर्शन गरेका थिए। विज्ञानतर्फ विद्यार्थीहरूले सौर्य ऊर्जा, जलचक्र, मानव शरीरको संरचना, वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, विद्युतीय सर्किट लगायतका विषयमा तयार पारेका नमुनाहरू प्रस्तुत गरेका थिए भने कलातर्फ चित्रकला, हस्तकला, रङ संयोजन तथा विभिन्न सांस्कृतिक झलक झल्किने सामग्री प्रदर्शन गरिएको थियो।
प्रदर्शन अवलोकनपछि प्रमुख अतिथि नगर प्रमुख चौधरीले विद्यार्थीहरूको सिर्जनशीलता र प्रतिभाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यालय शिक्षा केवल पुस्तकमा सीमित नभई व्यवहारिक र प्रयोगात्मक हुनुपर्नेमा जोड दिए। “यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउँछ, नयाँ कुरा सिक्ने प्रेरणा दिन्छ र उनीहरूको प्रतिभा उजागर गर्न मद्दत गर्छ,” उनले भने।
उनले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन विद्यालय प्रशासनलाई आग्रह गरे। साथै, नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका सभाध्यक्ष तथा संस्थापक प्रिन्सिपल विरेन्द्र कुमार चौधरीले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरूको समग्र विकासमा जोड दिँदै आएको बताए। उनले विद्यार्थीलाई सिर्जनात्मक, व्यवहारिक र प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिए। “विद्यार्थीहरूमा लुकेको प्रतिभा बाहिर ल्याउनु हाम्रो मुख्य उद्देश्य हो । करिब ३ सय विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा हामीले हरेक वर्ष सुसंस्कार सहित क्षमतावान, प्रतिभावान टपर विद्यार्थी उत्पादन गर्दै आएका छौँ। अन्य विद्यालयमा गएर पनि त्यसको परिणाम देख्न र पुष्टि गर्न सक्नुहुन्छ,” उनले भने।
कार्यक्रममा सहभागी अभिभावकहरूले पनि आफ्ना बालबालिकाको प्रस्तुति देखेर खुशी व्यक्त गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास बढाउने र सिकाइलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमले विद्यालयमा उत्साह र सिर्जनशील वातावरण सिर्जना गरेको थियो। विद्यार्थीहरूले आफूले तयार पारेका सामग्रीबारे जानकारी दिँदै आफ्नो ज्ञान र सीप प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्कुलका शिक्षिका वैशाली चौधरीले स्वागत मनतव्य राखेका थिए भने विधार्थी भाईवहिनीहरुद्वारा नै कार्यक्रमको उदघोषण गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्कुलका संस्थापक रामानन्द चौधरी, लहान प्राविधिक शिक्षालयका पुर्व सह – प्राध्यापक तथा शिक्षा विज्ञ रामनारायण चौधरी,श्रीजना पुस्तकालय पडरियाका अध्यक्ष अरविन्द चौधरी, जसपाका नेता खडक नारायण चौधरी, प्याब्सन केन्द्रिय सचीव विष्णु न्यौपाने लगायत विभिन्न मिडियाको संचारकर्मीको सहभागिता रहेको थियो ।
यसैबिच आज प्रजातन्त्र दिवसकै अवसरमा स्कुलले नि:शुल्क स्वास्थ्य शिविर पनि संचालन गरेका थिए । सयौंको संख्यामा अभिभावक, विधार्थी , स्थानीय लगायत कार्यक्रममा उपस्तिथले ब्लड प्रेसर तथा सुगरको जाँच गराएका थिए ।
तस्वीरहरु













तपाईको ईमेल गोप्य राखिनेछ