लहान १४, फागुन । सिरहा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत नेपाली काङ्ग्रेसबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार रामसुन्दर चौधरीले आज लहान नगरपालिका वडा नम्बर १४ को विभिन्न टोलमा घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन् । चुनाव नजिकिँदै जाँदा उम्मेदवार चौधरीले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष भेटघाट तथा संवादलाई प्राथमिकता दिएका हुन् ।

घरदैलो कार्यक्रमका क्रममा चौधरीले स्थानीय अभिभावक, दाजुभाइ तथा दिदीबहिनीहरूसँग आत्मीय रूपमा भेटघाट गर्नुका साथै उनीहरूका समस्या, सुझाव र अपेक्षाबारे छलफल गरेका थिए । यस क्रममा स्थानीयले विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए । मतदाताबाट प्राप्त माया, विश्वास र महत्वपूर्ण सुझावले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको उम्मेदवार चौधरीले बताए।
“जनताले देखाएको विश्वास र साथले आगामी दिनमा अझ दृढताका साथ जनताको सेवा गर्ने हौसला मिलेको छ,” उनले भने, “जनताको अपेक्षा पूरा गर्ने गरी योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।” उनले चुनावी योजनासहित निरन्तर जनताको घरदैलोमा पुगेर प्रत्यक्ष संवाद गरिरहेको र अधिकांश स्थानमा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जानकारी दिए।
घरदैलो कार्यक्रमका क्रममा स्थानीयले चौधरीलाई स्वागत गर्दै आफ्नो क्षेत्रको विकासका लागि सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका थिए। उनीहरूले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र युवाका लागि रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए। स्थानीयको विश्वास र समर्थनले आफूलाई थप ऊर्जा प्रदान गरेको चौधरीले बताए।

उम्मेदवार चौधरीले सिरहा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत पर्ने लहान नगरपालिकाका २४ वटै वडा, सखुवान्नकारकट्टी गाउँपालिकाका ५ वटा वडा, भगवानपुर गाउँपालिकाका ५ वटा वडा तथा लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं. २, ३, ४, ५ र ६ का विभिन्न टोलहरूमा समेत घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिए । ती स्थानहरूमा पनि जनताबाट उत्साहजनक साथ र समर्थन प्राप्त भएको उनले बताए।
उनले आफ्नो उम्मेदवारी जनताको अधिकार, विकास र समृद्धिको पक्षमा रहेको उल्लेख गर्दै निर्वाचन जितेपछि जनताको विश्वासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे। “मैले राजनीति सधैं जनताको सेवा गर्ने माध्यमका रूपमा लिएको छु,” उनले भने, “जनताको अपेक्षा अनुसार पारदर्शी, उत्तरदायी र विकासमुखी काम गर्ने मेरो मुख्य लक्ष्य रहनेछ।”
चुनावी अभियान अन्तर्गत चौधरीले आगामी दिनमा पनि क्षेत्रका बाँकी टोल तथा बस्तीहरूमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम रहेको जनाइएको छ। घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्ने र जनताका समस्या बुझ्ने कार्यलाई उनले प्राथमिकतामा राखेका छन्।
स्थानीय तहसम्म पुगेर गरिएको यस्तो प्रत्यक्ष संवादले मतदातासँग उम्मेदवारको सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिएको छ। चुनावी माहोल बढ्दै जाँदा उम्मेदवार चौधरीको सक्रियता क्षेत्रभरि उल्लेखनीय रूपमा देखिएको स्थानीयले बताएका छन्।
तस्वीरहरु:











तपाईको ईमेल गोप्य राखिनेछ