काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र ओलीबीच बिहीबार बिहान १० बजेदेखि छलफल सुरु भएको हो ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिको निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री निकट एक अधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन र सरकार सञ्चालन तथा सरकारका कामकारबाहीको प्रभावकारिताबारे चासो राख्दै आएका छन् । उनले प्रधानमन्त्रीसँगका पछिल्ला भेटहरूमा राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रको के धारणा रहन्छ भन्ने विषयमा चासो राख्दै आएका छन् ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले भने राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्तित्व हुनुपर्ने धारणा राख्दै आएका छन् । राष्ट्रपतिका कारण राजनीतिक दुर्घटना नहोस्, शक्ति सन्तुलन कायम रहोस् र शक्ति पृथकीकरणको मान्यतालाई ध्यानमा राखेर निर्णय लिनुपर्ने धारणा प्रधानमन्त्री दाहालले राख्दै आएको माओवादीका एक नेताको भनाइ छ ।
सरकार गठनका क्रममा राष्ट्रपति र सभामुख एमालेबाट चयन हुने तथा प्रधानमन्त्री दाहाललाई बनाउने समझदारी भएको थियो । साढे २ वर्षपछि प्रधानमन्त्री दाहाल र एमालेबाट चयन भएका सभामुखले राजीनामा दिनुपर्ने त्यतिबेलाको समझदारी थियो । एमालेबाट सभामुखमा देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।
आगामी साढे २ वर्षमा माओवादीको सभामुख हुने र एमालेबाट प्रधानमन्त्री हुने पुस १० मा ओली निवास बालकोटमा समझदारी भएको थियो । एमालेबाट सभामुखमा ओलीले आफूनिकट घिमिरेलाई चयन गरेपछि प्रधानमन्त्री दाहाल सशंकित भएको बताइएको छ । राष्ट्रपति निर्वाचनलाई लिएर सत्तारुढ गठबन्धन नै टुट्ने हो कि भन्ने आशंका भइरहेका बेला प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट भइरहेको हो ।











तपाईको ईमेल गोप्य राखिनेछ