लहान ६, फागुन । राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय लहान, सिरहाले आज आफ्नो ६५ औँ वार्षिकोत्सव निर्वाचनमा केन्द्रित भएर मनाएको छ।
२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै “निर्वाचन आचारसंहिता र सञ्चारमाध्यमको भूमिका” विषयमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको रासस लहान सिरहाका प्रमुख सुदिप राउतले बताएका छन् । उनले लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सिरहाका मुख्य निर्वाचन अधिकृत डा. प्रकाश उप्रेतीले निर्वाचनको समयमा पत्रकारको भूमिका अझ संवेदनशील र जिम्मेवार हुने उल्लेख गरे। उनले पत्रकारले निर्वाचन आचारसंहिता पालना गर्दै कुनै पनि राजनीतिक दल, उम्मेदवार वा पक्षको प्रचार हुनेगरी समाचार सम्प्रेषण नगर्नुपर्ने जोड दिएका थिए । “पत्रकारिता निष्पक्ष र तथ्यमा आधारित हुनुपर्छ, त्यसले मात्र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सहयोग गर्छ,” उनले भने।
कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख बासुदेव पाठक, जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तव तथा नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैता यादवले पनि निर्वाचनको समयमा सञ्चारमाध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनीहरूले पत्रकारले कुनै दल वा उम्मेदवारको पक्षपोषण नगरी तटस्थ र व्यावसायिक रूपमा समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता, गोरखापत्रका सिरहा संवाददाता जिवछ उदासी, शेख मिडिया हाउसका सञ्चालक फिरोज शेख लगायतले निर्वाचनमा पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, चुनौती र जिम्मेवारीका विषयमा आ- आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको उदघोषक नयाँ पत्रिका दैनिकका सिरहा संवाददाता मणिलाल विश्वकर्माले गरेका थिए।
कार्यक्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कैलाश राई, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानका प्रमुख सालिकराम तिमिल्सिना, नेपाल पत्रकार महासंघ मधेश प्रदेशको वरिष्ठ उपाध्यक्ष अम्बिका दाहाल, लेखक तथा विश्लेषक राजेश विद्रोही, व्यवसायी तथा जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानका निवर्तमान अध्यक्ष विकास सारडा, रेडियो नेपालका सिरहा सम्बाददाता संजय विश्वकर्मा, राससका सिरहा समाचारदाता मुकेश यादव, नेपाल टेलिभिजनका क्यामेरा म्यान अनुभक्त चौधरी, नेपाल बिबिसीका महेश सिंह लगायत ५० जना भन्दा बढी संचारकर्मीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले राससले विगत पाँच दशकभन्दा बढी लामो समयदेखि देशभर विश्वसनीय समाचार सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै राससले समाचारको माध्यमबाट समुदायमा गरेको योगदानको प्रशंसा गरेका थिए।
रासस लहान कार्यालयले विशेषगरी सिरहा लगायत मधेश प्रदेशका स्थानीय गतिविधि, सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रका समाचार नियमित रूपमा प्रवाह गर्दै आएको छ।














तपाईको ईमेल गोप्य राखिनेछ